चन्द्रप्रसाद पाण्डेय
नदी किनारको स्वच्छ वातावरणमा देवगुरु प्रकट हुनुभयो । मानिसहरू धेरै समयदेखि देवगुरुको प्रतीक्षामा थिए । देवगुरुको आगमन होला र आफ्ना गुम्सेका पीडाका पोकाहरू फुकाउँला भन्ने ठूलो आशामा बसेका थिए; केवलपुरका बासिन्दा । उनीहरूले गाउँमा धेरै पहिले देवगुरुको प्रतिमा र विशाल प्रार्थना कक्ष निर्माण गरेका थिए । त्यहाँ भजन कीर्तन, प्रवचन तथा पूजापाठ नियमअनुसार सञ्चालन गर्थे । एकदिन एक भक्तलाई एक्लै पार्थना कक्षमा निकैबेर ध्यानमग्न हँुदा देवगुरुले भन्नुभयो रे—“हेर ! म एकचोटि साकाररूपमा प्रकट हुनेछु र गाउँले सबैको दर्शन दिनेछु ।” त्यो भक्तको कुरा सुनेपछि त्यो गाउँका मात्रै होइनन् टाढा टाढाका मानिसहरू पनि पूजापाठ लगाउन त्यहाँ आउन थाले ।
सूर्यको तेजजस्तै उज्ज्वल रूपमा आफ्नो सम्मुख उभिएका देवगुरुलाई त्यहाँका बासिन्दाले झुकी–झुकी प्रणाम गरे । गर्वले पुकलित भए । देवगुरुले चारैतिर हेर्नुभयो र सबैलाई बस्ने निर्देशन दिनुभयो । सबैजना हरियो चौरमा पलेटी मारी बस्न थाले । त्यस शान्तमय वातावरणमा गुरु एकछिन रोकिनुभयो र बिस्तारै सम्बोधन गर्न थाल्नुभयो– “तपाईँको प्रार्थना, भक्तिप्रेमले म प्रसन्न छु । म आज तपाईँहरूका समस्याहरू प्रत्यक्ष श्रवण गर्न चाहन्छु ।”
मानिसहरू एकआपसमा एक अर्कालाई हेर्न थाले । के बोल्ने, कसरी बोल्ने पत्तो भएन । पछाडितिर बसेको एक युवक गुरुसँग साक्षात्कार गर्न तम्तयार देखियो । गुरुले उसलाई हेर्दै भन्नुभयो–“तिम्रो समस्या के छ ?”
त्यो युवकलाई उसकी आमा र बहिनीले सहारा दिई समूहको अगाडितिर ल्याएर घरैबाट ल्याएको बाक्लो चकटीमा टपक्क राखिदिए ।
युवक बोल्न थाल्यो– “देश र जनताको मुक्तिको लागि ज्यानको बाजी लगाएर लडेँ । म यद्धमा लड्न जानुपूर्व (नजिकै उभिएकी आमालाई देखाउँदै) यी आमाले नजाऊ छोरा युद्धले कसैको भलो गर्दैन भन्नुभएको थियो । (बहिनीलाई देखाउँदै) यो बहिनीले दाजु नजानुस् , मारकाट गर्ने त राक्षसले हो; हामीले होइन, यदि तपाईँ युद्धमा हताहत हुनुभयो भने आमा र म बिचल्लीमा पर्छौं भनेकी थिई । धेरै वर्षदेखि जकडिएको जर्जर अवस्थामा रहेको देश र जनताका पीडाहरूको नष्ट गर्ने बाचा खाएको थिएँ । नसा – नसामा देशभक्तिको भाव सञ्चारित थियो । रगत उम्लेर रनक्क रनक्क भएको थियो । मैले आमालाई ढाडस दिँदै भनेको थिएँ – आमा म देश बनाउने सपनामा छु, मलाई आशीर्वाद दिनुहोस् । बाँचे भने विजयको माला लगाएर आउनेछु, मरेँ भने मातृभूमिको ऋण ति¥यो भनी सम्झिनुहोला, मैले देखेको सुन्दर सपनालाई नच्यातिदिनुहोस् बिन्ती आमा ! आमाले धेरै सम्झाएपछि मुटु दह्रो बनाएर बिदा दिनुभएको थियो । म युद्धमा होमिएँ । देश र जनतालाई चुसेर उन्मक्त भएका शासकको सत्तालाई हामीले थर्कमान पा¥यौं । शासक सुरक्षाको चोघेरोमा बस्दै हामीलाई मार्नको लागि आदेश दिन्थे । बम, बारुद हामीमाथि बर्सिन्थे । हामी झन् बढी जुझारु भएर मौलाउँथ्यौँ । अचानक मेरो दायाँ खुट्टामा गोली लाग्यो । म पल्टेँ । पल्टेकै अवस्थामा फेरि ३, ४ गोली बायाँ र दायाँ खुट्टामा हानियो । म बिचेत भएँ । म होसमा आउँदा म अँध्यारो कोठाको भुसे गुन्द्रामा फ्याँकिएको थिएँ । झुत्रो गुन्द्रोमा पोखिएको भुसलाई मेरो नाकको फोराबाट निस्केको सासले पर–पर फालिरहेको थियो । छट्पटाउँदै रात कटाएँ । अर्को दिन मलाई अस्पताल लगियो । मलाई विचेत बनाइयो । ब्यूँझदा दुई वटा खुट्टै काटिए । आन्दोलने झन् चर्को रूप लियो । सत्ता पल्टियो । म खुशी भएँ तर देश र जनताको दुर्दशा झन् जटिल र विकराल हुँदै गयो । अहिले मेरो मन खिन्नको खिन्नछ । (सुकेको र ठुटिएको खुट्टा देखाउँदै) यी काटिएका खुट्टाका डोबहरू भने पुरिएलान्, मेरो मनको घाउ कसरी पुरिएला गुरु, देवगुरु म यही विन्ती गर्छु ।” एकछिन सन्नटा छायो।
केही बेरपछि समूहको बीच भागबाट रौद्ररूप लिएकी एक महिला उठिन् र देवगुरुलाई प्रणाम गरिन् अनि भनिन् – “गुरु म अन्यायमा परेँ । म बलात्कृत भएँ । घाँस काट्न जंगल गएकी थिएँ; ३, ४ जनाले मेरो अस्मिता लुटे । मेरो क्रन्दन जंगलमै विलय भयो । उनीहरू फरार भए । म समाजमा हारगुहार गर्न गएँ । उल्टै अपमानित र तिरष्कृत बन्न पुगें । गुरु म घर न घाटको स्थितिमा उभिएकी छु । न परिवारले वास्ता गर्छ न समाजले । गल्तीबिनाको सजायमा पट्यारलाग्दा दिनहरू बिताउन बाध्य छु । न्यायलयमा न्याय पाउन सकिनँ । न्यायधीष भन्छन् – ‘अभियुक्तको खोजी हँुदैछ ।’ गुरु मलाई शरण दिनुस् ।”
आँसुका बलिन्द्रधारासहित उनको पुकार प्रकट भयो । सबै शोकमग्न थिए, गुरु पनि गम्भीर मुहारमा त्यो वृत्तान्त सुनिरहनुभएको थियो ।
पछाडिको भागबाट एउटा मलिन अनुहारको युवक बिस्तारै उठ्यो । चारैतिर सबैलाई हे¥यो अनि गुरुलाई प्रणाम ग¥यो शिर निहुाराएर । उसको अनुहार बिक्षिप्त देखिन्छ । कलकलाउँदो उमेरको त्यो युवक थरथराएको ओठबाट आवाज निकाल्न थाल्छ – “मेरो नाउँ प्रशान्त हो । बिरामी दाजु र म रमितेबजारबाट घर फर्किंदै थियौं । सरकार र विद्रोही पक्षबीच देशभरि घमासान युद्ध चलिरहेको थियो । साँझपखको समय थियो । बीच बाटोमा बन्दुकधारीहरू देखिए । एउटा कालो कालो बन्दुकधारीले अगाडि हिँड्दै गरेको मेरो दाजुको कठालो समाएर भन्यो – ‘तँ कहाँबाट आइस् जासुसी ।’ मेरो दाइले बजार गएर आएको बताउनुभयो ।
अर्को एक सिकुटे बर्दीधारी आयो र भन्यो – “बजार गएको नाटक गर्ने जासुस हो, यसलाई चिलिम पार्नुपर्छ ।” मोटेले अघि सरेर मेरै सामु दाइको कञ्चटमा गोली हान्यो । भुल्ल रगत आयो अनि म रिसले आगो भएँ । उसको बन्दुक खोसँे र बन्दुकको पछाडिको भागले तिनीहरूका टाउका टाउकामा हान्न थालेँ ।
दाइ पल्टेर अर्धचेत अवस्थामा हुनुहुन्थ्यो । माटो ढुङ्गालाई रगतले मुछेको थियो । १०, १२ जना बन्दुकधारीले मलाई घेर्न थाले, म ढिस्कोबाट तल फाल हालेँ । भीरमा झण्डै खरको गाँजमा नसमातेको भए ५० मिटर तल खोल्सामा जाकिन्थेँ । तिनीहरू म¥यो भन्ठानी आक्रमण गर्न आएनन् । म बिस्तारै बिस्तारै जङ्गलको बाटो छिचोलेर घिस्रँदै घिस्रँदै घर आइपुगेँ । त्यो दुर्घटनाले म मानसिक रोगी बन्न पुगेँ । त्यस घटनापछि सबैलाई बन्दुकधारी देख्न थालेँ । र मलाई लखेटिरहेजस्तो लागिरहन थाल्यो । अझै पनि मेरा दाइका ट्वाल्ल परिरहेका आँखाले हेरिरहेजस्तो लाग्छ गुरु ! देवगुरु, गल्तीबिनाका अपराध हामीले पाइरहेका छौँ । मेरा बा, आमा दाजु र मेरो हालतका कारण तड्पिएर बाँच्नु भएको छ । उहाँहरूका सपनाहरूलाई चकनाचुर पारियो ।” त्यस शान्तमय स्थानमा सुनाइएका कहालीलाग्दा घटनाहरू सुनेर सबैजना रोए । देवगुरुबाट हाम्रो समाधान हुनेछ भनी व्याकुल मुद्रामा सबै बसेका थिए। देवगुरु नरम भाषामा प्रवचन दिन थाल्नुभयो – “आजको मानिस ठूलो बन्ने प्रयत्नमा विध्वंशको बाटो रोजिरहेको छ । अहमताले थिल्थिलिएका मानवरुपी पिण्डले जताततै आक्रान्त बनाइरहेको छ । अहम्ताको होडमा बाँच्न पाउनुपर्ने मौलिक अधिकार हनन भएको छ । एउटाको स्वार्थमा निहत्था जनता अनाहकमा च्यापिएका छन् ।”
त्यतिकैमा बन्दुक पड्केको आवाज आउँछ । सुन्दर शान्तमय त्यस पवित्र स्थानमा सबैको मन भङ्ग हुन्छ । अचानक चारैतिरबाट बन्दुकधारीको प्रवेश हुन्छ । जता मन लाग्यो बन्दुक पड्किन्छन् । भागाभाग हुन्छ । आइमाई केटाकेटीको क्रन्दन सुनिन्छ । सक्ने भाग्छन्, नसक्ने त्यहीँ ढलेर मुर्छा पर्छन् । कसैको छातीमा, कसैको टाउकोमा त कसैको खुट्टामा गोली बारुद प्रहार हुन्छ । प्रशान्त देवगुरुको पछाडि बस्छ । देवगुरुलाई ‘माफिया’ भन्दै ३,४ जनाले च्याप्प समाउँछन् भने एक जनाले प्रशान्तलाई पनि माफियाको दाहिने हात भन्दै समाउँछ । एकैछिनमा भयाभह स्थितिमा परिणत हुन्छ त्यो सौम्य वातावरण । देवगुरु अघि अघि प्रशान्त पछि पछि गर्दै तेर्सिएका बन्दुकको बीचमा हिँडाइन्छ । अदालतको फैसलापछि देवगुरुलाई फाँसी दिने प्रबन्ध हुन्छ । कालो नकाब लगाएकाहरूले रातको समयमा देवगुरुलाई फाँसीको माला घाँटीमा राखेर तिम्रो अन्तिम इच्छा के हो ? भनी सोध्छन् । देवगुरु अविचल मुद्रामा बोल्नुहुन्छ – “मानवले मानवलाई मानवीय दायित्व पूरा गरोस् ।” नकाबधारीले फाँसी दिन डोरी माथिबाट खिच्दा प्रशान्तले चिच्यायो – “नाइँ ! देवगुरु ।”
‘देवगुरु’ ‘देवगुरु’ ‘देवगुरु’ ओछ्यानमा पल्टिएको प्रशान्त चिच्याउन थाल्यो ।
प्रशान्तकी आमाले श्रीमान्लाई उठाउँदै भनिन्– “उठ्नु न, प्रशान्त फेरि बरबराउन थाल्यो । के गर्ने ?” प्रशान्तका बाबुआमा प्रशान्तको नजिक पुगे । पसिनाले खलखली भिजेको प्रशान्तलाई झकझकाउँदै आमाले सोध्न थालिन– “के भो बाबु ? आँखा खोल ।”
प्रशान्त अत्यन्त विक्षिप्त देखिन्थ्यो । अर्धचेतमा आँखा पुलुक्क खोल्यो प्रशान्तले तर बोलेन । आमा घुँक्क घँुक्क रुन थालिन् । बाबु पनि आँखाभरि आँसु लिएर बरबराउन थाले– “भगवान् तिमीले के सजाय दिँदैछौ ? ”
“आमा देवगुरुलाई फाँसी दिए । त्यही भएर तपाइँहरू पनि रुनुभयो ? (भित्तामा टाँसिएको गुरुको फोटोलाई देखाउँदै ) तिनी गुरुलाई मारे गुण्डाहरूले । गुरुले हामीलाई प्रवचन दिँदै हुनुहुन्थ्यो, कति आनन्द आइरहेको थियो । सपनामा पनि मलाई छाडेनन् गुण्डाहरूले । आमा म के गरुँ (रुन थाल्यो) दाइ, मेरो दाइ... । आमा म बदला लिन्छु ती गुण्डाहरूसँग ......।” प्रशान्त बरबराउँदै निदाउन थाल्यो । आमा बाबु लामो सास फेर्दै उसको नजिक बसिरहे ।
No comments:
Post a Comment