Monday, October 17, 2011

जस्तो मति उस्तै गति

नरेन्द्रनाथ भट्टराइ

मति भनेको बुद्धि हो । बुद्धि भनेको मनुष्य जीवनलाई सञ्चालन गर्ने बीज हो । संसार खेत हो । जेको बीउ रोप्यो उही उम्रिन्छ । सुन्तलाको बोटमा लप्सी फल्दैन । कोदोको बीउ छरेर धानको आशा गर्न सकिँदैन । यस्तै गरी बालक अवस्थादेखि नै मानिसलाई दिइने शिक्षा–दीक्षा अनुरुप नै भविष्यमा ती मानिसहरूमा फल फल्न थाल्दछ ।
महान् सम्राट सिकन्दरको बारेमा एउटा रोचक घटना सुनिएको छ, बालक अवस्थादेखि नै युवराज सिकन्दरलाई शिक्षा–दीक्षाको लागि एक जना गुरुको व्यवस्था मिलाइएको थियो । दिनदिनै ती गुरुले अनेकन तरिकाले सिकन्दरलाई आवश्यक शिक्षा–दीक्षा दिइरहन्थे । १२ वर्ष उमेर पुगेका सिकन्दरलाई एक दिन गुरुले एउटा कोठामा लगेर राखेर आफू केही बेरमा आउँछु भनेर बाहिर निक्लिए । बाहिर आएर ढोकामा ताला लगाइदिए । रक्षकहरूलाई ६ घण्टापछि मात्र ढोका खोलिदिनु अनि भित्र बस्दा राजकुमार जे जे बोल्छन्, जे–जे गर्छन ती सबै टिपोट गरिराख्नु भनी घरतिर लागे । त्यो कोठाभित्र एउटा भाँडोमा पिउने पानी राखिएको थियो । बिहान १० बजे कोठामा बसेका सिकन्दर सोच्दै थिए, आज यही कोठामा पाठ पढाइने रहेछ क्यार । गुरु काम परेर एकै छिन बाहिर जानु भएको होला । आधा घण्टा बित्दा पनि गुरु नआएको र ढोका नखुलेको देख्दा बेचैनी हुन थाल्यो । एक घण्टापछि त ढोका घच्घच्याउन थाले, ढोका खोल ! ढोका खाल ! भनी कराउन थाले । दुई घण्टापछि त झन रिसले बरबराउन थाले ।  कोठाका सामान, पुस्तक, कलम, कपी फाल्न र च्यात्न थाले । पानीको घैंटो पनि फुटाली दिएकोले पानी पनि खान मिलेन । अब त गुरुलाई नै भन्नै नहुने अपशब्दहरू प्रयोग गरेर गाली गर्न थाले । आफूले लगाएका लुगा पनि च्यात्न थाले । ढोका खोलेपछि रिसाउँदै सिकन्दर आफ्नो महलतिर लागे ।
भोलिपल्ट गुरुलाई सिकन्दरले कक्षामा हिजो किन त्यसो गरेको भनी स्पष्टीकरण मागे । गुरुले भने, हे युवराज ! हिजोको मैले सिकाउने पाठ नै त्यही थियो । तिमी राजा हुने व्यक्ति हौ । सारा जनतालाई सुख, शान्ति र सुरक्षा प्रदान गरेर देशमा अमन चैन राख्ने अभिभारा तिमीमाथि पर्दछ । सुयोग्य राजा बन्नलाई जनताको आन्तरिक स्थितिको बारेमा पनि यथार्थ अनुभव हुनु पर्दछ । आवेगको नतिजा के भयो सम्झ त ! हिजोको घटना ! आवेशमा आएर घैंटो फुटाल्दा प्यास लागेका बखत पानी खान नपाएर छट्पटिनु प¥यो ! भोक र प्यासले छट्पटिँदा गुरुलाई र बाबु आमालाई भनेका अपशब्द ! ढोका, भित्तामा लात मारेका, आफ्ना लुगासमेत च्यातेका कुरा बताउँदै गुरुले भन्न थाले, हे राजकुमार ! बिना कसुर थुनिनु पर्दा कस्तो हुने रहेछ ? भोक प्यासले सताएका मानिसबाट कस्ता कस्ता कृत्य समेत हुन सक्दा रहेछन् भन्ने कुरा पनि हिजोको पाठबाट तिमीले सिकेर, बुझेर आवेशमा नआई, धैर्यपूर्वक कार्य गर्नु पर्दछ । अब तिमी राजा भएपछि यस्तो स्थिति आउन नदिन सदा सतर्क रहने छौ ।
यस्तो शिक्षाको प्रभावले गर्दा नै सिकन्दर एक महान् विश्वविजेता सम्राट कहलिन पुगे । वैदिक समाजमा हाम्रा प्राचीन शिक्षा प्रणाली यस्तै थिए । धर्म, अर्थ, काम, मोक्ष, जीवनका ४ खुड्किलाबाट हिँडेर जीवनमुक्त हुन्थे । जबकि अहिले हेर्ने हो भने केवल धन, पद प्रतिष्ठालाई नै सर्वोपरि मान्ने खालको शिक्षा मात्र पाइन्छ । यस्तो शिक्षारुपी बिउबाट उम्रिएका हुर्किएका बिरुवारुपी मानिसमा अहंकार, भ्रष्टाचार, दुराचार हुनु अनि यस्ताबाट आतंककारी कार्य हुनमा के आश्र्चय ? जस्तो मति उस्तै गति ।

No comments:

Post a Comment